काठमाडौं– रोजगारका लागि कोरिया जाने विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको घटनामा छानबिन गर्न जाँचबुझ आयोग गठन भएको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा पूर्व न्यायाधीश पौडेलका साथै नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेका छन्।
आयोगलाई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने कार्यादेश तोकिएको छ। साथै, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने कार्यादेश पनि तोकिएको छ।
आयोगलाई उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने कार्यादेश पनि तोकिएको छ।
आयोगलाई आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ महिनाभित्र पेस गर्न भनिएको छ।
वैदेशिक रोजगारीअन्तर्गत कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरुले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए। बालकुमारी–ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत बालकुमारी क्षेत्रमा सडक जाम गरी प्रदर्शन गरेका थिए।
युवाहरुले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए। स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोली समेत प्रहार गरेको थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा २ जना युवक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।