काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी) ले समाजिक संस्था सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ।
बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनमा भएको समारोहका बीच खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको हो। एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गानाइजेसन र व्यक्तिगततर्फ यो अवार्ड प्रदान गर्दै आइरहेको छ। एएफसीले समाजप्रति उदाहरणीय कार्य गर्दै आएका व्यक्तिलाई प्रदान गर्ने गरेको छ। खुस्बुलाई एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसी समक्ष सिफारिस गरेको थियो। सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए। खुस्बुलाई अवार्डसँगै नगद १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो।
उनलाई नेपालका विभिन्न भूभागमा गरेको योगदानका लागि उक्त रकमकाे सम्मान गरिएको थियो। खुस्बुले युनाईटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा ५ नमुना गाउँ निर्माण गरिसकेकी छन्।

अवार्डपछि खुस्बुले गरिब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तीकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताइन्। खुस्बुले सम्मेलनमा सामाजिक समावेश र स्वास्थ्य विषयमा समेत धारणा राखेकी थिइन्।
विषेशगरी महिलाहरुका लागि अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग माध्यमबाट आत्मनिर्भरका कार्यक्रम अगाडि बढाइरहेका छिन्। जसमा ३५० महिला विभिन्न तालिम, ५ सय ८ महिला विभिन्न कार्यक्रम र १२ सय महिला तालिमकै मार्फत व्यक्तिगत आयआर्जनका कार्यक्रममा सहभागी छन्।
सेल्टर नेपालकी अध्यक्ष खुस्बुले १ हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन्। केही समय अगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिको राष्ट्रिय फुटबल टिम तयार गरी रुस विश्वकपको दौरान स्ट्रिट चाइल्ड वल्डकपमा समेत सहभागी गराइएको थियो। संस्थाले अन्य विभिन्न खेलका माध्यमबाट सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।