काठमाडौं– साफ सुजुकी कप २०१८ को पहिलो सेमिफाइनल अन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको छ।
माल्दिभ्सले नवौं मिनेटमा अग्रता लिएको थियो। माल्दिभ्सका कप्तान अकरम अब्दुलले फ्रिकिङमार्फत गोल गरेका हुन्। डिबक्सबाहिर प्राप्त फ्रिकिङमा उनको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले रोक्ने मौका नै पाएनन्।
पहिलो हाफमा भारी वर्षा भएका कारण खेल केहि बेर रोकिएको थियो।
सेमिफाइनलमा स्थान बनाउने क्रममा नेपाल आक्रमक खेल खेल्दै समूह 'ए' को विजेता बनेको थियो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ को झिनो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भुटानमाथि ४–० को जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलले हराएको थियो।
माल्दिभ्सका लागि भने सेमिफाइनल यात्रा सहज रह्यो। श्रीलंकासँग गोलरहित बराबरी खेल्दा नै माल्दिभ्सलाई अन्तिम चारमा पुग्न पर्याप्त रह्यो। श्रीलंका र माल्दिभ्स भारतसँग समान २–० गोलले पराजित भएका थिए। त्यसैले समूह 'बी' को उपविजेताको टुंगो टसमार्फत लगाइएको थियो। टसमा माल्दिभ्सले बाजी मारेको थियो।
नेपालले सन् २०११ र २०१३ मा सेमिफाइनलमा स्थान बनाएपनि अफगानिस्तानसँग हार बेहोरेको थियो। माल्दिभ्सलाई हराए नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ।
हेड टु हेड
नेपाल
जित –०, बराबरी–२, हार–४
माल्दिभ्स
जित –४, बराबरी–२, हार–०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।