काठमाडौं- संसदमा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनको मर्मअनुसार पारित गर्न सरकार सकारात्मक भएको छ। अनशनरत डा केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न अनौपचारिक सहमति जुटेको हो।
यसका लागि मंगलबार डा केसी पक्ष, कानुन मन्त्रालयका प्रतिनिधि र शिक्षामन्त्रीबिच छलफल भएको थियो। विधेयक र डा केसीका अन्य मागका सम्बन्धमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा र डा केसीबीच बुधबार एक घन्टा छलफल भएको थियो।
सरकारले डा केसीसँग छलफल गर्न र उनका माग सम्बोधनलाई औपचारिक रुपमा टुंग्याउन वार्ता टोली गठन गरेको छ। सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको हो।
वार्ता टोली सदस्यहरुमा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा किरण रेग्मी छन्। डा केसीका तर्फबाट वार्ता टोलीमा डा वाइपी सिंह, डा जीवन क्षेत्री र डा अभिषेक सिंह छन्।
डा केसी ७ दिनदेखि १३औं अनशनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।