काठमाडौं– संघीय ढाँचाअनुसार विधान संशोधन मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले पार्टी नेतृत्वसँग पनि छलफल गरेको छ।
समिति अन्तर्गतको तीन वटा उपसमितिले तयार पारेको विधान संशोधन प्रारम्भिक मस्यौदामाथि समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वसँग पनि छलफल गरेको हो। समिति अन्तर्गतका उपसमितिहरुले तयार पारेका विधान संशोधन मस्यौदामाथि पार्टी पदाधिकारी, पार्टी संसदीय दलका पदाधिकारी र पूर्व पदाधिकारीहरुबीच पनि आवश्यक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
आम जनताको भावनालाई प्रतिनिधित्व हुनेगरी पार्टीको विधान तयार पार्ने कामलाई समितिले तीव्रता दिएको पनि उनले बताए।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र दिलेन्द्रप्रसाद बडु नेतृत्वको ३ वटा उपसमिति गठन गरेको थियो। सोही उपसमितिका नेताहरुले आफूले तयार पारेको प्रारम्भिक मस्यौदा नेतृत्वलाई जानकारी गराएका हुन्। विधानमा आवश्यक परिमार्जन गर्न समितिले सबै प्रदेश तहमा पनि छलफल गर्नेगरी मिति र स्थान तय गर्ने योजना पनि बनाएको छ।
बिहीबारसम्म समितिले विधानको संशोधन मस्यौदामाथि सबै प्रदेशबाट पनि रायसुझाव लिनेगरी छलफल गर्न मिति र स्थान तय गर्ने पनि प्रवक्ता शर्माले बताए। समितिले तयार पारेको प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि मंसिरमा हुने कांग्रेस महासमिति बैठकमा त्यसलाई प्रस्तुत गरिनेछ।
कांग्रेस प्रवक्ता शर्माले पार्टीलाई आधुनिक पार्टीको रुपमा विकास गर्नेगरी विधान तयार पार्ने कामलाई अघि बढाएको पनि जानकारी दिए। समितिले संशोधित विधानको मस्यौदा बनाउन देशभरका पार्टी समितिहरुको सुझाव पनि लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।