काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन्।
माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन्।
‘यो चेलिबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतीजस्तै भइसक्यो। पहिले पहिले चेलिबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ। मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन्। त्यही कथा हामीले गीतमार्फत् भन्न खोजेका हौं।’
हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन्। ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ। तर देशको नियतीले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने।
साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ। गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरुलाई ललाई फकाई गरेर विदेश पुर्याइन्छ भन्ने कथा देख्न सकिन्छ। पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।