काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको बताएका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ आफ्नो तिब्बत भ्रमण फलदायी र निकै उपलब्धिमूलक रहेको बताए। आफ्नो तीब्बत भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरे।
सभामुख महराले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको जानकारी गराएका छन्। 'तिब्बत सरकारका प्रमुखसँगको भेटमा तातोपानी नाका खुलाउने विषयमा पनि छलफल भएको छ,' उनले भने, 'छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको छ।' सभामुख महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पुलको व्यवस्था भइरहेको पनि जानकारी दिए।
गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत प्रस्थान गरेका सभामुख महराले त्यहाँ आयोजित ‘चौथो चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा भाग लिएका थिए। सोही भ्रमणको क्रममा ल्हासास्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास पनि गरेका थिए। सोही कन्सुलर भवनबाट तातोपानी र रसुवागढीमा निर्माण गर्न लागिएको चीन–नेपाल नाका पुलको पनि शिलान्यास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।