काठमाडौं- कर्पोरेट संस्था ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ। ह्वावेले पाल, कम्बल, स्लिपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो।
ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ।
ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ। ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ।
ह्वावेले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन सधैं अग्रगामी भूमिका खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।