मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका छन्। (तस्बिर सौजन्य: इगल एफएम)
फुङ्लिङ– कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज (मंगलबार) बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौं तीर्थयात्री बीच बाटोमै अलपत्र परेका छन्। मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन्।
बन्दका कारण मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ। गत शनिबार गृह जिल्ला ताप्लेजुङ आएका नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको संघर्ष समितिले बताएको छ।
प्रहरीले पहिचान पक्षधर पाथीभरा याङवराक–घतिरिङे निवासी विविनकालिङवा र आनन्दकालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको दाबी संघर्ष समितिको छ। प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।