इटहरी- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारसँग जनता वाक्क दिक्क भइसकेको बताएका छन्। नेकपाले चुनावताका बाँडेका आश्वासन झुटा साबित भएका र यसको फैसला आगामी ४ वर्षमा जनताले गर्ने उनको भनाइ थियो।
प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले कर बढाउन र भ्रष्टाचारीलाई प्रश्रय दिने काममा सरकार उद्यत रहेको आरोप लगाए। 'एयरलाइन्स प्रकरणमा जहाज खरिद गर्दा बिचौलिया हाबी भएको बाट सबै प्रस्ट हुन्छ,' उनले भने।
भ्रष्टाचारी दिगम्बर झालाई दुरसञ्चार प्राधिकरणको प्रमुख नियुक्ति गरिनुले सरकारको चरित्र स्पस्ट भएको उनको भनाइ थियो। सरकारको आलोचनामै समय खर्चेका महतले सरकार उत्पादनमा भन्दा वितरणमा जोड दिन लागिपरेको बताए।
'सरकार बारम्बार चुकिरहेको छ, शान्ति सुरक्षामा चुकेको छ,' उनले भने, 'रोल्पामा तरुण दलका नगर सभापतिको हत्या निन्दनीय छ। हामी यो सरकारलाई बारम्बार खबरदारी गर्दैछौ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।