प्रतिकात्मक तस्बिर
मेचीनगर– झापाको मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा आज (शुक्रबार) आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्याएको थियो।
उद्योगका सञ्चालक शान्तिराम चिमरियाका अनुसार आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको छ। उद्योगमा भण्डारण गरेर राखिएको १० टन तयारी रबर आगोले जलेर खरानी भएको चिमरियाले बताए।
भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ। मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो।
झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ। रबरको रुखबाट सङ्कलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ। आगलागी भएको उद्योग रबर जोनमार्फत् सरकारकोसमेत अनुदानमा स्थापना भएको थियो।
यसैगरी, शुक्रबार बिहान झापाकै गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा आगलागी हुँदा १ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। खोले पकाउने क्रममा अचानक गोठमा सल्किएको आगोका कारण एउटा बाच्छी जलेर मरेको छ भने एउटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले जानकारी दिए।
आगो गौरादह र कमल गाउँपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले गोठमा लागेको आगो नियन्त्रणमा लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।