काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ। बिहीबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ।
आयोगले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्ता अभिव्यक्ति रोक्न आग्रह गरेको हो। आयोगले वक्तव्यमा भनेको छ, ‘घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मूल्य-मान्यता विपरीत भएको आयोगको ठहर छ।’
आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रम गर्दा संविधान र कानुनको परिधि भित्र रहन सबैलाई आग्रह गरेको छ।
‘कसैप्रति लक्षित घृष्णायुक्त अभिव्यक्ति नदिऔं, सामाजिक सञ्जालहरुमा घृणा फैलाउने अभिव्यक्तिहरु पोस्ट नगरौं,’ आयोगले भनेको छ । आयोगले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न सरकारलाई समेत आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।