काठमाडौं- यस वर्षको तिहारमा कुल २४ करोड २१ लाख २५ हजार रुपैयाँको माला खपत भएको छ। जसमध्ये ५ करोड ८५ लाख रुपैयाँको स्वदेशी सयपत्रीको माला प्रयोग भएको छ भने १३ करोड ६५ लाख रुपैयाँका भारतीय सयपत्री प्रयोग गरिएको छ।
जसअनुसार स्वदेशी सयपत्री मालाको ३० प्रतिशत प्रयोग हुँदा भारतीय सयपत्री ७० प्रतिशत प्रयोग गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। स्वदेशी फूलले बजार तथा मूल्य नपाउँदा कारोबार घटेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए।
गत वर्षको तिहारमा २६ करोडको कारोबार भएको थियो। जस अनुसार दुई करोड रुपैयाँ बराबरले कारोबारमा कमी आएको उनको भनाइ छ।
‘गत वर्षको तिहारमा प्रति माला सय रुपैयाँमा बिक्री भएको थियो,’ तामाङले भने, ‘यस वर्ष औसत प्रति माला ६५ रुपैयाँमा बिक्री भयो। फूलको मूल्यमा कम आउँदा कारोबार रकम पनि घट्यो।’
एसोसियसनले यो वर्ष ३१ करोड २८ लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरेको थियो। तर भारतिय फूलमाला सस्तो भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ।
यो वर्षको तिहारमा ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिए पनि ३० लाख मात्रै सयपत्री माला खपत भएको छ। मखमली ३ लाख २५ हजार थान माला खपत भएको छ।
यस्तै अष्ट्रेलिया, अमेरिका, खाडी मुलुकमा ३ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख थान मखमली माला निर्यात भएको एसोसिएसनले जनाएको छ।
गोदावरी माला २ करोड रुपैयाँ बराबरको २० हजार थान माला स्वदेशमै खपत भएको हो। मिक्स माला ९ लाख रुपैयाँ बराबरको ३० हजार थान खपत भएको एसोसिएसनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।