काठमाडौं- हमास र इजरायलकाबीचको युद्धबिराम अवधि सुरु भएको छ। स्थानीय समयानुसार बिहान ७ बजे उक्त अस्थायी युद्धविराम सुरु भएको छ।
युद्धविराम सुरु भएसँगै हमासले बन्धक बनाएर राखेकाहरूमध्ये १३ जनालाई शुक्रबार ३ बजे रिहाइ गरिने उक्त युद्धबिरामको मध्यस्थता गरिररहेको कतारले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इजरायल र हमासबीच भएको सहमति अनुसार चार दिनको युद्धबिरामको अवधिमा हमासले गाजाबाट ५० जना बन्धकलाई मुक्त गर्नुपर्नेछ। त्यस्तै इजरायलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गनुपर्नेछ। यस सम्बन्धी प्रक्रिया पूरा भएको र उनीहरुलाई रिहा गर्ने अन्तिम तयारीमा रहेको इजरायल सरकारले दाबी गरेको छ।
शुक्रबार मुक्त हुनेहरुको नाम कुनै पनि पक्षले सार्वजनिक गरेको छैन। यसरी हेर्दा पहिलो चरणमा बन्धक र बन्दी रहेकामध्ये महिला तथा बालबालिका रिहा हुने बुझिएको छ। उनीहरूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्था रेडक्रसको जिम्मा लगाइने उल्लेख छ।
नेपाली विद्यार्थी जोशी पर्छन् त?
हमासको नियन्त्रणमा एक नेपाली विपिन जोशी पनि रहेका छन्। उनी हमासकै नियन्त्रणमा रहेको कुरा केही समयअघि सार्वजनिक भएको एक भिडियोमार्फत पुष्टि भएको थियो। नेपाल सरकार र दूतावासले यही भिडियो सार्वजनिक भएपछि जोशी शकुसल रहेको र छुटाउनका लागि पहल गरिरहेको छ।
पहिलो चरणमा केही बन्दी रिहाइ गर्ने भएपछि नेपाल सरकार र दूतावासले नेपाली विद्यार्थी विपिनको बारेमा मध्यस्थता गरिरहेको कतार र इजरायल सरकारसँग कुरा गरिरहेको छ। तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भने हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी जोशी पहिलो चरणमा मुक्त हुने सम्भावना न्यून रहेको बताएका छन्।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले पनि बीबीसीसँग रिहाइका लागि पहल भएको तर अहिले नै छुट्ने सम्भावना भने न्यून भएको स्वीकार गरेकी थिइन्।
पहिलो चरणमा चार दिनमा ५० जना बालबालिका सहित जेष्ठ नागरिक बन्धकहरूलाई छाड्ने सहमति भएकोले पहल जारी राखेको उनले भनेकी छन्।
तर, सबै बन्दी एकै पटक रिहाइ नहुने भएपछि केही बन्धकका परिवार र आफन्तहरुले असन्तुष्टि जनाएको बीबीसीले जनाएको छ।
कतारी मध्यस्थकर्ताहरूका अनुसार शुक्रबार दिउँसो स्थानीय समय ४ बजे १३ बन्धकलाई हमासले मुक्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।