एजेन्सी– प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) ले अन्तरकोरियाली सैन्य सम्झौताअन्तर्गत रोकिएका सबै सैन्य उपायहरू तत्काल लागु गर्ने बिहीबार घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ।
दक्षिण कोरियाले सैन्य सीमाङ्कन रेखामा सशस्त्र द्वन्द्वको खतरा कम गर्न गरिएको सम्झौतालाई आंशिक रूपमा स्थगन गर्ने निर्णय गरेको एक दिनपछि उत्तर कोरियाको रक्षा मन्त्रालयले उक्त वक्तव्य जारी गरेको हो।
वक्तव्यमा भनिएको छ, ‘यो भू–उपग्रह प्रक्षेपण आत्मरक्षाको अधिकार र सार्वभौमिकताको वैध र न्यायोचित अभ्याससँग सम्बन्धित एक कदम हो।’
रक्षा मन्त्रालयले भनेको छ, ‘उत्तर कोरियाले जमीन, समुद्र र हवाईलगायत सबै क्षेत्रमा सैन्य तनाव र द्वन्द्व रोक्नका लागि चालिएका सैन्य कदमहरू फिर्ता लिनेछ र सैन्य सीमाङ्कन रेखा क्षेत्रमा थप शक्तिशाली सशस्त्र बल र नयाँ प्रकारको सैन्य उपकरण तैनाथ गर्नेछ।’
दक्षिण कोरियाले सन् २०१८ मा उत्तर कोरियासँग भएको सैन्य सम्झौता आंशिक रुपमा स्थगन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।