भक्तपुर– कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले संघीय प्रणाली कागजमै मात्र लागू हुँदा जटिलता उत्पन्न भएको बताएका छन्।
रफत सञ्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले संविधानमा उल्लेख भएको संघीय प्रणाली कागजमै सिमित बनेको र त्यसलाई व्यवहारमा लागू नगरिँदा प्रदेश सरकारले सोचे अनुरुप काम गर्न नसकेको बताए।
उनले पोखरामा भएको मुख्य मन्त्रीहरुको भेला समय सापेक्ष नभएको भन्दै संघीय सरकारकै पाटो रहेको प्रदेश र स्थानीय सरकारले संविधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताए।
केन्द्र सरकारले कर्णाली प्रदेशको विकासमा सोचे अनुरुप बजेट उपलब्ध नगराउँदा केही विकासका गतिविधिमा जटिलता आएको भन्दै अब प्रदेश सरकारले आफ्नै स्रोत साधनको परिचालन गरी यो प्रदेशलाई आर्थिक समृद्धीतर्फ अघि लाने तयारीमा लागि परेको बताए।
कर्णाली प्रदेशमा च्याउ मौलाएजस्तो एनजिओ र आईएनजिओ मौलाएको भन्दै त्यस्ता संस्थाहरूलाई कर्णाली प्रदेशमा ढोका बन्द भएको बताए।
शाहीले कर्णाली प्रदेश मातहतमा रहेको सरकारी निकायमा कार्यालय समयमा फेसबुक सञ्चालनमा कर्मचारीलाई रोक लगाएको समेत जानकारी दिए।
उनले कर्णाली प्रदेशको विकासका लागि खाका तयार पारिसकेको र योजनाका खाकाहरुलाई पूर्णता दिने तर्फ प्रदेश सरकार लागि परेको दाबी गरे।
उनले प्रदेशभित्रै भएको स्रोत र साधनहरूको परिचालन गरी विकास निर्माणलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।