काठमाडौं– अघिल्लो महिना झन्डै तीन हप्ताको युरोप भ्रमण गरेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मंगलबार साँझ संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदैछन्। अमेरिका भ्रमणलाई प्राज्ञिक भनिएको छ।
'मूलत: यो भ्रमण उहाँले अध्ययनको उद्देश्यसाथ गर्न लाग्नुभएको हो', भट्टराईको व्यक्तिगत वेबसाइटमा भनिएको छ।
विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद/साम्यवाद दुवै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ? के यो २१ औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ? नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरुमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ? नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ? अरु विकसित देशहरुको अनुभवबाट के सिक्न सकिन्छ? लगायतका प्रश्नहरुको साथ भट्टराईले भ्रमण गर्न लागेको बताइएको छ।
भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रबुद्ध/प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्नेछन्।
भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली संघले गर्ने बताइएको छ।
भट्टराईसँगै पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि जाने कार्यक्रम छ।
भट्टराई असोज २२ गते नेपालका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।