काठमाडौं– नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ।
क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो।
मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आज आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका थिए।
अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी थिए। अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ बर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ।
अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यस वर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ।
उक्त महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो।
यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।