काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गरेका छन्। दुई महाशक्तिबीचको तनाव कम गर्न दुवै नेताबीच भेट भएको एक दिनपछि उनीहरूले त्यस्तो प्रयास गरेका हुन्।
‘हामी कतै जाँदैनौं’, एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भने। उनले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने बताए।
दुवै नेता सैन्यदेखि सैन्य सम्बन्ध पुनःस्थापित गर्न सहमत भएका छन्। राष्ट्रपति सीले फेन्टेनल औषधिका लागि चीनमा यसको उत्पादनलाई रोक्ने बाचा गरेका छन्।
‘विश्वका दुई ठूला अर्थतन्त्रबीचको स्थिर सम्बन्ध ती दुई अर्थतन्त्रका लागि मात्र नभई विश्वका लागि राम्रो हुन्छ’, बाइडेनले भने। यद्यपि तनाव कम भए पनि बाइडेनले एपेकका २१ मुलुकमध्ये धेरैका लागि बेइजिङको तुलनामा वासिङ्टन राम्रो सहयोगी हुने बताए।
सीले आफूलाई बुधबार ‘किन हामी प्रशान्तमा यति व्यस्त छौं’ भनेर प्रश्न गरेको उल्लेख गर्दै बाइडेनले भने, ‘मैले भनेँ, किनभने हामी प्रशान्त मुलुक हौं, हाम्रो कारणले यस क्षेत्रमा शान्ति र सुरक्षा भएको छ, यसले तपाईंलाई विकास गर्न अनुमति दिएको छ, उहाँ असहमत हुनुभएन।’
क्यानाडाको तटबाट चिली, अस्ट्रेलिया, मलेसिया र रुससम्म फैलिएको विशाल गतिशील क्षेत्रमा प्रभाव हासिल गर्न चीन र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन्। चीनले आफ्नो बेल्ट एन्ड रोड कार्यक्रममार्फत् पूर्वाधार र ऋण उपलब्ध गराउँदै आएको छ। त्यसैगरी अमेरिकाले पनि व्यापार र अन्य सम्झौतामार्फत गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।