काठमाडौं– ज्यान मार्ने उद्योगका एक आरोपीलाई पक्राउ गर्ने क्रममा बाँके प्रहरीले गोली प्रहार गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश रानालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
पक्राउ गर्ने क्रममा भागेपछि रानालाई गोली हानेर पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए। बोहराका अनुसार राना ज्यान मार्ने उद्योगका आरोपी हुन्।
गत कात्तिक ३० गते रानासहितको समूहले बाँकेकै २९ वर्षीय मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकको नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको लखनउ रेफेर गरिएको थियो। विकको अहिले भारतमा उपचार भइरहेको छ।
रानाको खोजी गर्ने क्रममा जानकारी गाउँपालिका–४ खजुरामा रहेको सूचना पाएपछि शुक्रबार बिहान ३ बजे प्रहरी टोली खजुरा पुगेको थियो। प्रहरी आएको सुइको पाएपछि भाग्न लागेका रानालाई खुट्टामा गोली हानेर पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए।
राना यसअघि लागु औषध मुद्दामा ५ वर्ष कारागार बसेर गत वर्षको फागुनमा मात्रै कारागार मुक्त भएका थिए। विकलाई खुकुरी प्रहार गर्नुअघि कात्तिक २८ गते नै बाँकेमा १ महिलाई बलात्कारको प्रयास गरेको भन्दै रानाविरुद्ध प्रहरीमा उजुरी समेत परेको एसपी बोहराको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।