काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको बताएका छन्। नेपाल संवतको अवसरमा बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
उनले गणतन्त्र स्थापना भएपछि आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको उल्लेख गर्दै भने, ‘त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरेँ, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो।’
उनले हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताए। उनले भने, अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत् कार्यान्वयनमा आउँछ।
प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् भएको बताए। प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् नभई नेपालीको आफ्नै मौलिक संवत् भएको उल्लेख गरे।
उनले भने, ‘सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवतप्रति नेपालीले गर्व गर्नुपर्छ।’ नेपाल संवतलाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको बताउँदै उनले नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।