जाजरकोट– भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमसहित जिल्लामा शनिबार बिहानदेखि वर्षा हुन थालेको छ। भूकम्प गएको १ सातासम्म पनि न्यूनतम राहत सामग्री समेत पाउन नसकेका भूकम्पपीडितहरु पानी पर्न थालेपछि झन् मारमा परेका छन्।
सरकारले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ राहत पुगेको छैन। कर्णाली प्रदेश र संघीय सरकारको समेत नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकाहरुमा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको सुनाए।
भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन्। त्यसमाथि शनिबार विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ। भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ। त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए।
भूकम्पको केन्द्रविन्दु जाजरकोट बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन। स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताए। उनले भने, ‘गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन।’
बारेकोट चिसो ठाउँ हो। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए। उनका अनुसार बारेकोटमा अझै १ हजार ७०० थान त्रिपाल अपुग छ।
नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन। नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नम्बर ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन्। नलगाड वडा नम्बर ८ बारेकोट गाउँपालिकाको वडा नम्बर ८ सँग जोडिएको पालिका हो भने वडा नम्बर ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो।
नलगाड वडा नम्बर ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो। त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताए। प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ।
भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ। बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन्।
आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ। अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन्। भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ। कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताए।
जाजरकोट सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेमध्ये धेरैले राहत नपाएको बताएका छन्। राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले गुनासो गरे। –राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।