धनगढी– नेपालीहरुको महान पर्व सुभ दिपावली लगायतका तिहारहरु नजिकिएसँगै कैलालीमा रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक सूचना जारी गर्दै सुरक्षालाई ध्यानमा राखी रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्नमा रोक लगाएको हो।
‘देउसी, भैलो, नाचगान लगायतका कार्यहरु बढीमा राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्न अनुरोध छ’, प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘राती अबेरसम्म देउसी भैलो खेल्दा चोरी डकैती लगायतका घटनाहरु हुने भएकोले त्यसलाई ध्यानमा राख्दै अनुरोध गरिएको छ।’
साथै तिहारको समयमा विस्फोटक पदार्थहरुसमेत बिक्री वितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ। विस्फोटक पर्दाथबाट मानवीय क्षति आगलागी जस्ता घटना हुने भएकोले सो बिक्री वितरण तथा ओसार पसार र प्रयोग नगर्न नगराउन अनुरोध गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।
‘मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैझगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य गर्न पाइने छैन्’ सो सूचनामा भनिएको छ।
प्रशासनले देउसी भैलोमा दक्षिणाको लागि रकम तोकी दक्षिणा दिन दबाब नदिन र देउसी भैलो लगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।