काठमाडौं– मुगुमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गोपाल बोहोरा र उनका साथी काले भनिने गोर्खराज शाह ठकुरी रहेका छन्। उनीहरुले लुटपाटको उद्देश्यले उक्त घटना भएको बताएका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार कात्तिक ८ गते राति दुवै जना लुटपाट गर्ने योजनासहित मृतक श्रीदेवी बोहोराको घरमा गएका थिए। नातेदार भएकाले श्रीदेवीले उनीहरुलाई घरभित्र पस्न दिएकी थिइन्।
कुराकानीका क्रममा हतियार देखाउँदै गरगहना दिन उनीहरुले धम्की दिएका थिए। तर श्रीदेवीले नमानेपछि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपीले बयान दिएका छन्। यस्तै घर पस्ने क्रममा ठूला भएका छोरीहरुले चिनेका कारण पोल खुल्ने डरका कारण उनीहरुको पनि हत्या गरेको पक्राउ परेकामध्ये गोपालले बयान दिएका छन्।
यस्तै आमा श्रीदेवीको हत्यापछि रोएका कारण गाउँलेले थाहा पाउँछन् कि भनी एक वर्षीय बालकको पनि हत्या गरेको प्रहरीसमक्ष गोपालले बयान दिएका छन्।
हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर आरोपितहरु फरार भएका थिए। आरोपित गोपाल बोहोरा उक्त रात आफ्नै घरमा सुतेको भए पनि अर्का आरोपित गोर्खाराज शाही ठकुरी भने सोही रात हिँड्दै जुम्ला पुगेको र जुम्लाबाट बस चढेर सुर्खेत पुगेका थिए। सुर्खेतमा एकरात बसी त्यहाँबाट नेपालगञ्ज आएर लुटिएको सुन आरोपितले बेचेका थिए।
गत कात्तिक ८ गते राति श्रीदेवीसहित उनका दुई छोरी र एक छोराको हत्या भएको थियो। उक्त घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूेरो सीआईबीको टोलीसमेत परिचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।