काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प पीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।
भूकम्प पीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्।
उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं ३ मा पुगेर हस्तान्तरण गरेका थिए। सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिइन्।
गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिएका छन्। खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरुको उद्धार र राहतमा खटिएका हुन्।
राहत वितरणपछि पुनःस्थापनाको काम सुरु नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।
रक्षामन्त्रीसमेत रहेका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन्।
‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो। म आफैं पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहित वितरणमा सक्रिय छु। सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।