काठमाडौं– माग बढेपछि भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुका किसानहरुले तिहारको लागि मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन्। तर मखमली फूलको मालाको माग अत्याधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ।
एक हप्ता अघिदेखि माला उन्न र बिक्री गर्न थालेका किसान माग धेरै भए पनि सस्तो मूल्यमा बिक्री गर्नुपर्दा आफूहरु मर्कामा परेको उनीहरुको भनाइ छ। यस्तै यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरु बताउँछन्।
गुण्डुकी व्यवसायी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन्। उनले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गरिन्। थापाले व्यापार राम्रो भए पनि विगतका वर्ष प्रतिमाला ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएको र अहिले २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको सुनाइन्।
‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन। मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ। व्यापार राम्रो छ तर प्रतिमाला २० देखि २३ रुपैयाँ भन्दा बढीमा बिक्री भएको छैन। मखमली फूल उत्पादनमा मेहनत भएअनुसार मूल्य आउन छोडेको छ,’ उनले भनिन्।
उनले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताइन्। उनले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताइन्। उनले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजारबढी आम्दानी गर्न सकिने बताउँछिन्। तर बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने उनको भनाइ छ।
अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ। उनले पनि मखमली मालाको माग राम्रो भए पनि विगतका वर्षहरुको जस्तो मूल्य नपाएको बताइन्। उनले विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताइन्।
मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको उनको भनाइ छ। गतवर्ष १ लाख रुपैयाँको माला बिक्री भए पनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने उनले बताइन्। विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको उनी बताउँछिन्।
मखमलीको माला घरमा नै व्यापारीहरु किन्न आउने हुँदा बजारमा लैजानु नपर्ने र आफूहरुले अहिलेसम्म बिक्री गरेका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको बताइन्।
मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताइन्। मैयाले उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको बताइन्।
अघिल्लो वर्ष मखमली प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भएको र अहिले किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्नेमा मूल्य नपाएको मैयाको गुनासो छ।
तर आम्दानीको हिसावले खेतमा मखमली फूल लगाउँदा धानको भन्दा फाइदा मखमली फूलबाट बढी हुने उनको बुझाइ छ। ‘मखमली माला बनाउन पनि मेहनत गर्नुपर्छ आफू मात्रै नभएर अर्मपर्म गरेर वा एउटा माला उनेको ५ रुपैयाँसम्म तिरेर लगाउनु पर्छ। एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको छ,’ मैयाले भनिन्।
मैयाले एक रोपनी जग्गामा मखमली फूलखेती गरेकि छन्। सो जग्गामा फूल खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।