सुर्खेत– कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित स्थानीय तहलाई झण्डै साढे २ करोड रकम हस्तान्तरण गरेको छ। प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५–२५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। यस्तै, कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५–२५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। यस्तै, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०–२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको जिसीले बताए। मन्त्री जिसीका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई ५–५ लाख हस्तान्तरण गरिएको छ।
भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए। यही कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्र भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।