काठमाडौं– सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय जिबानन्द चौधरी र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।
हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लहान नगरपालिका-१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद गरिएको छ।
यसैगरी उनीहरु सवार स ९ प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ।
पक्राउ परेका उनीहरु उनीहरु विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।