काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकास्थित वडा नम्बर १ मा बस्दै आएका ३३ वर्षीय लालु बिक श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
घटना गत जेठ १९ गतेको हो। तर जेठ २३ गते २८ वर्षीया श्रीमती गोपी विक कसैलाई जानकारी नदिएर सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन लिएर प्रहरी चौकी नाङ्ले पुगेका थिए। फेरि उनले असार १० गते प्रहरी प्रभाग साँखुमा खोजीका लागि श्रीमती गोपीको हुलियासमेत छाडेका थिए।
तर मृतक गोपीका भाई गोपाल विकले खोजतलास गरी पाउँ भन्दै प्रहरीमा अर्को निवेदन दिएपछि अनुसन्धान गर्दै जाँदा हत्यामा पती लालुको संलग्नता रहेको खुलेको थियो।
त्यसपछि साउन २९ गतेदेखि लालु फरार रहेका थिए। उनको खोजी गरिरहँदा उनी भागेर भारत पुगेका थिए। तर कात्तिक ५ गते उनी काठमाडौं आएको भन्ने खबर पाएपछि प्रहरीले खोजी गर्दै जाँदा ५ गते उनलाई गोकर्णेश्वर नगरपालिका–८ मालकबारीमा लुकेर बसेका उनी पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले गरेको सोधपुछमा उनले श्रीमती गोपीको आफैंले हत्या गरेको स्वीकार गरे। प्रहरीमा दिएको बयान अनुसार जेठ १९ गते बिहान ६ बजेतिर सामान्य घरायसी विवादका क्रममा झगडा हुँदा टाउको लगायत शरीका विभिन्न अंगमा प्रहार गरी हत्या गरेको बताए। र हत्यापछि उनले गोपीको शवलाई दुई टुक्रा पारेर जेठ २० गते बिहान १ बजेतरि दुईवटा बोरामा हालेर मोटरसाइकलमा राखी घरभन्दा केही दूरीमा रहेको देउराली सामुदायिक वनमा लगी आफैंले गोल पोल्ने गरेको खाल्डोमा पुरेको बयान दिए।
उनको बयानपछि प्रहरीले उनलाई साधमा लिएर शव गाडेको भनिएको ठाउँमा लग्यो। खाल्डो खोतल्दा करिब पाँच फिट जतिको गहिराईमा दुई बोराभित्र हालिएको शवका दुई टुक्रा फेला परे। शरीरको बाह्य छाला सडेको र किरासमेत परिसकेको अवस्थामा फेला पारिएको थियो। त्यसपछि शवलाई जाँच मुचुल्कासमेत गरी परीक्षणका लागि अस्पताल पठाइएको छ। पक्राउ परेका लालु विकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।