काठमाडौं– पोखराको सेती नदी खोँचमा खसेका एक युवकको सकुशल उद्धार गरिएको छ।
शनिबार सात बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदी किनामा धाँजा फाटेको स्थानमा एक युवक खसेका थिए।
पर्वतको फलेवास नगरपालिका–३ घर भई हाल पोखरा–१५ नयाँ गाउँस्थित दाजुको डेरामा आई बसेका वर्ष १९ को सुदीप विक खोँचमा खसेका थिए।
उनी अचानक खसेको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट ७ जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट ६ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं. २४ गण हे.क. कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो।
प्रहरीले खोजी गर्दा उनलाई ९ बजेर ५५ मिनेटमा खोँचमा अड्किएको अवस्थामा फेला पारेको थियो। उनलाई उक्त खोँचबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।