काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी ओली र मुख्य मन्त्रीहरुबीच द्वन्द्व नरहेको स्पष्ट पारेका छन्।
मुख्यमन्त्री शाहीले संविधानले सबै अधिकारको व्यवस्था गरेकाले संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्व हुने कारण नरहेको प्रस्ट पारे। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानको बर्खिलापमा भने कोही पनि जान नहुने भनाइ राखे।
मुख्यमन्त्री शाहीले संविधानले सबै अधिकार दिएकाले ‘संघीय सरकारले दिने र प्रदेशले लिने’ भन्ने सोचाइ नराख्न पनि सबैलाई आग्रह गरेका छन्। उनले अभाव भएका कर्मचारीको व्यवस्थापनका लागि पनि प्रदेशमै लोकसेवा आयोग गठन गर्ने संविधानमै व्यवस्था भएकाले यस सम्बन्धमा पनि प्रधानमन्त्री ओलीसँग असन्तुष्टि राख्नुपर्ने कारण नरहेको स्मरण गराए।
मुख्यमन्त्री शाहीले एक वर्षभित्र कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा पनि गरेका छन्। उनले स्थानीय स्तरमै मल, बिउ उत्पादन गरी कृषकहरुलाई निःशुल्क वितरण गर्ने योजना अघि सारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।