काठमाडौं– मंगलबार र बुधबारका लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक बस्ने/नबस्ने टुङ्गो लागेको छैन।
पार्टीका महासचिव विष्णु पौडेलका सहयोगी यम पाण्डेले भदौ १८ र १९ को बैठक स्थगित गरेपछि अर्को मिति नै तय नगरिएको बताए।
जिल्ला,प्रदेश र भ्रातृ संगठनको एकता प्रक्रिया टुङ्ग्याउनका लागि डाकिएको स्थायी समिति बैठक यसअघि पनि आन्तरिक तयारी नपुगेको भन्दै सारिएको थियो। एकीकरण प्रक्रिया टुङ्ग्याउन सचिवालयले भदौ ७ सम्मको समय दिएको थियो। उक्त समयमा सहमति हुन नसके सोही अनुरुपको प्रतिवेदन बुझाउन केन्द्रले निर्देशन दिएको थियो। जिल्ला तहमा नेतृत्वमा विवाद भएपछि गण्डकी प्रदेशका अधिकांश जिल्लामा पूर्व एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै नामावली बुझाएका छन्। ती जिल्लाहरुमा अध्यक्षमा दुवै दलको दाबी छ।
नेकपाका २२ जनवर्गीय संगठनहरुमा केन्द्रीय समितिको संख्यामा मतक्यैता भए पनि मुख्य नेतृत्वमा विवाद छ। ती संगठनहरुको एकीकरण गर्न गठित कार्यदलले सहमतिको प्रतिवेदन बुझाउन सकेका छैनन्।
आन्तरिक तयारी नपुगेको तथा शीर्ष तहका नेताहरु विदेशमा रहेको भन्दै १८ र १९ का लागि बोलाइएको बैठक सारिएको थियो। बैठककाे टुंगो नलागेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी गराए। पार्टीको आन्तरिक तयारी नपुगेकोले बैठक बस्नेबारे निश्चित नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।