काठमाडौं– नेपाल प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधारणलाई खानतलासी गरी दु:ख दिएको आरोपमा पक्राउ परेका नक्कली प्रहरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
सर्वसाधारणलाई आफू प्रहरीको घुमुवा भएको र सिभिल ड्रेसमा चेकजाँच गर्न आएको भन्दै खानतलासी गरिरहेका ललितपुरको गोदावरी–६ टिकाभैरव घर भइ हाल टोखा–११ भण्डारीटोल बस्दै आएका २२ वर्षीय विश्व मल्ल कात्तिक ११ गते पक्राउ परेका थिए।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। साथै उनको साथबाट नेपाल प्रहरीको नक्कली परिचय पत्र थान १ (एक), उनले प्रयोग गर्दै आई रहेको बा.६७प ५७९९ नं. को स्कुटर थान १ र सो स्कुटरको डिकी भित्र धारिलो हतियार खुकुरी थान १ (एक) बरामद गरेको थियो।
लिखत सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्यादथप अनुमति लिई अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालतमा पेस गरिएको थियो। सोमबार अदालतको आदेश अनुसार उनलाई पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।