काठमाडौं– मोरङ प्रहरीले स्रोत नखुलेको २१ लाख ८७ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो ३ बजेतिर विराटनगर महानरपालिका–६ शनि मन्दिर चोकबाट विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
१६ वर्षीय नाबालकको साथबाट पछाडी भिर्ने कालो झोलामा बोकी ल्याउँदै गरेको अवैध हुण्डी कारोबारको रकम २१ लाख ८७ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ।
साथै उनको साथबाट मोटर साइकल र कागजपत्रसमेत बरामद गरी थप अनुसन्धान भइरहेको छ। बरामद भएका नोटमध्ये १ हजार दरका १६८७ थान जम्मा १६ लाख ८७ हजार, पाँच सय दरको १००० जम्मा ५ लाख गरी २१ लाख ८७ हजार बरामद भएको हो।
उनको साथबाट कुमारी बैंकको एक थान चेकबुक, एनआईसी एसिया बैंकको काटिएको एक थान चेकबुक, ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा जम्मा गरिएको रसिद चार थान, र प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको १५० सीसीको पल्सर बाइक बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।