दक्षिण कोरिया– कोरियाका नेपालीहरुको मियो संस्था एनसिसीमा आर्थिक अपारदर्शिताको विषयले विवाद उत्पन्न भएको छ। संस्थाका पूर्वअध्यक्ष प्रेम कुमार शाहले १ करोड २२ लाख वन संस्थालाई बुझाउन बाँकी रहेको भन्दै संस्थाले विज्ञप्ति निकालेपछि विगतदेखिको विवाद बाहिर आएको हो।
गत अगस्ट २१ मा संस्थाका अध्यक्ष अञ्जु केसीले जारी गरेको विज्ञप्तिमा संस्थाका निवर्तमान अध्यक्षले संस्थाका महत्वपूर्ण कागजातसमेत जफत गरी १ करोड २२ लाख वन रकम संस्थालाई नबुझाएको उल्लेख छ। विज्ञप्तिमा ‘निजलाई ताकेता गरी हिसाब बुझाउन आग्रह गर्दा, आफू समस्यामा रहेको भन्दै आलटाल गरिरहेको र सम्पर्कमा नआएको’ भनिएको छ।
तर, शाहले भने संस्थाले विज्ञप्तिमा उल्लेख गरेजति रकम बुझाउन बाँकी नरहेको दाबी गरेका छन्। संस्थाले विज्ञप्ति प्रकाशित गरेको अर्को दिन शाहले फेसबुक म्यासेञ्जरमा पठाएको सन्देशमा भनेका छन्, ‘संस्थाका अध्यक्ष स्वयं अञ्जु केसीले पनि संस्थालाई फाराम बिक्रीको रकम ७८ लाख कोरियन वन बुझाउन बाँकी छ।’
यद्यपि, उनले आफूले ३५ लाख वन बुझाउन बाँकी रहेको मौखिक रुपमा स्वीकार गरेका छन्।
संस्थाले विज्ञप्ति निकालेर आफ्नो बदनाम गरेको र कतिपय संञ्चारमाध्यमले आफ्नो फोटोसहित गलत सूचनाको आधारमा समाचार सम्प्रेषण गरेको प्रति आपत्ति शाहले आपत्ति जनाएका छन्। उनले संस्थाका अध्यक्ष र एक पत्रकारविरुद्ध साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गराएको पनि बताए।
संस्थामा देखिएको विवादले समस्यामा परेको गुनासो गर्दै यो विषयलाई तत्काल टुंग्याउन यहाँका नेपालीले आग्रह गरेका छन्।
संस्थाले जारी गरेकाे विज्ञप्ति:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।