काठमाडौं– साफ सुजुकी कप २०१८ को सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार भएको समूह ‘बी’ को खेलमा माल्दिभ्सलाई भारतले २–० गोलले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
भारत समूह ‘बी’ को विजेता भन्दै अन्तिम चारमा पुग्यो भने माल्दिभ्स समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्यो। भारतले समूहका दुवै खेल जित्यो।
माल्दिभ्स र श्रीलंकाले एक अापसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २–० गोलको हार बेहोरेका थिए। गोल अन्तर र हेड टु हेडमा दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेताको टुंगो लगाइएको थियो। टस माल्दिभ्सले जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो।
अब भारतले समूह ‘ए’ को उपविजेता पाकिस्तानसँग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ। त्यसअघि बुधबार नै समूह ‘ए’ को विजेता नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। समूह विजेता बनेर अन्तिम चारमा पुगेको नेपाल पाँचौ पटक अन्तिम चारमा पुगेको हो। बुधबार जित हात पारे नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो। त्यसपछि नेपालले भुटानमाथि ४–० र आयोजक बंगलादेशमाथि २–० को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।