काठमाडाैं– नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संविधानसम्मत रहेको स्पष्ट पारेका छन्।
अध्यक्ष पौडेलले ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले व्यक्तित्वको गोपनियताको हकलाई सुनिश्चित गरेको प्रष्टयाउँदै त्यसको बहसमा नअल्झिन पनि सांसदहरूलाई आग्रह गरे।
आइतबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सम्पत्ति सार्वजनिक गर्ने लगायतका विषय अन्य कानुनमै व्यवस्था गरिएको पनि स्मरण गराए।
अध्यक्ष पौडेलले विधेयकमा राज्यसँग व्यक्तिको वैयक्तिक सूचना हुने तर तेस्रो नागरिकलाई दिन नपाउने व्यवस्था पनि विधेयकमा गरिएको स्पष्ट पारे।
कानुन आयोगले सामान्य नागरिकको सूचनाको हकलाई राज्यले प्रत्याभूति गराउनुपर्ने दायित्व पनि सो विधेयकमा उल्लेख गरिएको स्पष्ट पारेको छ।
अध्यक्ष पौडेलले ‘विषय वा प्रसंगले अन्य अर्थ नलागेमा’ भन्ने विधेयकको प्रावधानले आवश्यकता अनुसार सो ऐनलाई समृद्ध बनाउँदै जानसक्ने व्यवस्था गरेको समितिलाई जानकारी दिए।
आयोगका अध्यक्ष पौडेलले सार्वजनिक पदधारण गरेका व्यक्तिको निजी जीवनमाथि हस्तक्षेप गर्न नहुने गरी आएको विधेयकलाई परिमार्जन गर्न नहुनेतर्फ समितिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण गराए।
उनले सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति लगायतका विवरण आवश्यक परेका बेला उपलब्ध गराउने कानुनी व्यवस्था रहेको स्मरण गराए।
बैठकमा समितिका सदस्य प्रेम सुवालले मेडिकल साइन्सले प्रमाणित गरेपछि मात्रै लिंग छुटयाउने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे। समितिका अर्का सदस्य शेरबहादुर तामाङले सरकारको परिचय पत्रमा धर्म समेत खुलाउनुपर्ने व्यवस्था हटाउन माग गरे। व्यक्तिको गोपनियताको हक सुरक्षित गर्न धर्म समेत परिचय पत्रमा उल्लेख गर्नुपर्ने प्रावधान हटाउनुपर्ने उनको दाबी छ।
बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले समितिले परामर्श गरेर तयार पारेको सर्वसम्मत निर्णयअनुसार विधेयक परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कानुनी व्यवस्था भइसकेका कतिपय प्रावधान विधेयकमा राख्न आवश्यक नदेखिएका समितिलाई स्मरण गराए।
समितिको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिका सदस्यहरूले विधेयकका सम्बन्धमा उठाएका प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापाले दिने कार्यसूची रहेको समितिकी जेष्ठ सदस्य मिना पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।