काठमाडौं– नेपाली विज्ञहरु तथा गैरआवासीय नेपालीहरुको लागि ज्ञान, आविस्कार, विज्ञता तथा अनुभव आदानप्रदानको साझा थलो निर्माण गर्ने उद्देश्यका साथ दुई दिने तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशनसँगै सुरु हुने यो वर्षको सम्मेलन नेपालको अर्थसामाजिक विकासको लागि विज्ञान, प्रविधि, आविस्कार र लगानीमा केन्द्रित हुने गैरआवासीय नेपाली संघको सम्मेलन आयोजक समितिले जनाएको छ।
‘यो वर्षको सम्मेलनको मूल विषय नेपालको राष्ट्रिय योजना आयोगको १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्यहरुमा आधारित रहेर तय गरिएको हो’, सम्मेलनका अध्यक्ष डा राजु अधिकारीले भने।
सम्मेलनले विज्ञान, प्रविधि र आविस्कारलाई उच्च मूल्य दिँदै नेपाली जनताको हीतमा प्रयोग गरिने छ भन्ने सुनिश्चित गर्न आवश्यक छलफल गर्न र रणनीतिहरु तर्जुमा गर्न जीवन्त फोरम हुने आशा गरिएको अधिकारीले बताए।
उनका अनुसार सम्मेलनले गैरआवासीय नेपालीहरु तथा नेपालका विज्ञहरुलाई नेटवर्क विस्तार गर्न र ज्ञान आदानप्रदानको मौका प्रदान गर्नेछ। सम्मेलनले नेपालको विकासमा विज्ञान, प्रविधि र आविस्कारहरुको उपयोगमा बहुपक्षीय साझेदारहरुको सहभागीता अभिवृद्धि गर्ने लक्ष्य राखेको सम्मेलनका उपाध्यक्ष देवीबहादुर बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।