काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताएका छ।
छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उनको दाबी थियो।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरुसमेत देखापर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे।
उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेकोसमेत दाबी गरे। उनले भने, ‘यहाँहरुलाई थाहा छ–अहिले न्यायपालिका स्वभाविक लयमा हिँडन थालेको छ। र, सुधारको मार्गमा उन्मुख भइरहेको छ। छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ।’
प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालत पाटनमा बनेको नवनिर्मित भवनले गुणस्तरीय सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उच्च अदालत पाटनको कामकारबाहीप्रति आफूहरु खुसी रहेको बताए। उनले सो अदालतको चौतारोलगायतका भौतिक पूर्वाधार निर्माण पनि महानगरपालिका तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।