मेलम्ची– मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ। वडादशैं, दिपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रुपमा उपलब्ध होस् भनी अनुगमन थालेको हो।
मेलम्ची नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका मेलम्ची, बाहुनेपाटी, सिन्धुखोला, तालामाराङ, भोटेचौर, सेल्ले पोखरे, दुबाचौर, भदौरे, पिप्ले, ज्यामिरे, शिखरपुर, क्यौरानी लगायतका बजारहरूको अनुगमन गरेको मेलम्ची नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले बताए।
नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, बजार अनुगमन टोलीका संयोजक किरणदीप खड्का, सम्बन्धित वडाका जनप्रतिनिधिहरू, उद्योग वाणिज्य संघका उपाध्यक्ष जगनाथ चालिसे, सदस्य प्रकाश दाहाल, नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शालिकराम अधिकारी संलग्न रहेका थिए।
अनुगमनका क्रममा करिब ३ लाख मूल्य बराबरको मिति गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गर्ने कार्य गरिएको मेयर तामाङले बताए। बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबार्डको मुखमा कालोबजारी र अस्वभाविक मूल्यवृद्वि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउनको लागि बजार अनुगमन गरिएका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताए। अनुमगनलाई अब निरन्तरता दिँदै नियमित गरिने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।