दक्षिण कोरिया– ख्यङजु स्थित ‘सजिन सानअव’मा कार्यरत सञ्जय बज्राचार्यको पहिलो चरणमा लागेको ३ वर्षे भिसा अवधि सकिन मात्रै १ महिना बाँकी थियो।
अन्तिम समयमा कम्पनीले कोरियन कामदार धेरै भएको भन्दै थप सम्झौता गर्न मानेन।
साविकको कम्पनीसँग भिसा अवधि नबढेको अवस्थामा र अर्को कम्पनी परिवर्तन गरे पनि बोनस भिसा थप्नका लागि कम्तिमा १ महिना काम गरेको र साहुले चाहेको हुनुपर्ने प्रावधान छ।
बज्राचार्यले कम्पनीसँग धेरै आग्रह गरेपछि १ महिनाको मात्र बोनस भिसा थप्न सफल भए। कम्पनी यसअघि पनि परिर्वतन गरेकाले बज्राचार्य भिसा थप्ने विषयमा जानकार थिए।
कम्पनी परिवर्तनको प्रावधानको ज्ञान नभएको भए उनलाई नेपाल फर्कनु बाहेक विकल्प थिएन।
कोरियामा कामदारको तलब वृद्धि भएसँगै कम्पनीहरूले थप अवधि भिसा थप्नको लागि आनाकानी गर्दै आएका छन्। पहिलोपटक कायम गरिएको ३ वर्षे भिसामा बोनस भिसा १ वर्ष १० महिनाको हुन्छ।
थप अवधिको भिसाको लागि विदेशी कामदारसँग सम्झौता गर्न कम्पनीहरुले पछिल्लो समय अस्वीकार गर्ने क्रम बढाएका छन्। कम्पनीले थप सम्झौता गर्ने हो वा होइन, यस विषयमा कम्तिमा २ महिना अगाडि नै जानकारी लिने र नथप्ने भएमा कम्पनीको सल्लाह अनुसार तुरुन्त काम परिवर्तन गर्न सल्लाह दिन्छन एच आर डि कोरियामा कार्यरत श्याम खड्का।
कोरियाको नयाँ सरकाले वृद्धि गरिरहेको तलबको भार थेग्न नसक्ने कम्पनीहरुले कोरियन कामदारको तलब रोक्का गर्ने र कामदार कटौती गर्दा त्यसको प्रत्यक्ष मारमा विदेशी कामदार पर्ने गरेको उनले बताए।
कोरियन कामदारले समयमा तलब नपाएमा वा कम्पनीले निकाला गरिदिएमा उनीहरूले उजुरी गर्छन्।
स्वदेशी कामदारलाई हटाएको अवस्थामा २ महिनासम्म र पीडित कामदारले उजुरी गरेमा ५ महिनासम्म त्यस कम्पनीमा कार्यरत अन्य विदेशी श्रमिकको थप सम्झौता गर्न नपाउने सरकारी व्यवस्था छ।
प्रवासी मजदुर संगठन दक्षिण कोरियाका अध्यक्ष उदय राईले ३ वर्षसम्म काम गरिरहेको कम्पनीले बोनस भिसा थपिदिएन भने आफ्नो देश फर्कनुको विकल्प नभएको बताउँछन्।
उनले कामदारहरुलाई सुझाए, ‘बोनस भिसाका लागि साहुसँग अनुरोध गर्ने हो र यदि साहुले थपिदिन चाहेन भने अन्य कुनै विकल्प छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।