न्यूयोर्क– युएस ओपनको महिलातर्फको उपाधी हात पार्दै जापानी खेलाडी नाओमी ओसाकाले इतिहास रचेकी छिन्। आज भएको फाइनल खेलमा विश्न नम्बर १ खेलाडी सेरेना विलियम्सलाई सोझो सेटमा पाखा लगाउँदै नाओमी ग्रान्डस्लाम उपाधी हात पार्ने पहिलो जापानी बनेकी छिन्।
सेरेनाविरुद्ध सहज जित हात पार्ने क्रममा २० वर्षीया नाओमीले ६–२ र ६–४ को नतिजा निकालेकी थिइन्।
खेलका क्रममा निर्णायकमाथि सेरेनाले गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी थिइन्। खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवानासमेत गरिएको थियो। दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै टेनिस र्याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन्। उक्त सेट नाओमीले ६–४ ले आफ्नो पक्षमा पारेकी थिइन्।
खेल समाप्ती पश्चात् प्रतिक्रिया दिँदै ओसाकाले सेरेनाको चर्को आवाजले फ्लसिङ मिडोज एरिना नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढङ्गबाट लिएको प्रतिक्रिया दिइन्। ‘मलाई अतिरिक्त अंक दिइएको थियो र यसबाट म केही असमन्जसमा परेकी थिएँ। तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ। सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ।’
२४औं ग्रान्डस्लाम जित्ने दाउमा रहेकी सेरेनाका लागि नाओमी बाधक बनेकी थिइन्। नाओमीलाई युएस ओपनको कप प्रदान गर्दा दर्शक दिर्घाबाट असन्तोषसमेत प्रकट भएको थियो।
तर सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन् , ‘होइन, नाओमीले ज्यादै राम्रो खेलिन्। यो उनको पहिलो ग्रान्डस्लाम हो। हामी सबैले उनलाई सम्मान गर्नुपर्दछ।’
सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, ‘युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो। मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।