काठमाडौं– सीमा सुरक्षाको विषयलाई लिएर सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच बाहिनीस्तरीय छलफल भएको छ।
सशस्त्रको नम्बर १ बाहिनी मुख्याल पकली सुनसरी र एसएसबीको फ्रेन्टियर हेडक्वार्टर सिलिगुरी सेक्टर हेडक्वार्टर पुर्निया र गान्तोकबीच बाहिनीस्तरीय सीमा समन्वय बैठक भएको हो।
असोज २६ गते भएको उक्त बैठकमा सशस्त्र प्रहरीका बाहिनीपति डीआईजी अन्जनीकुमार पोखरेल र एसएसबीको फ्रेन्टियर हेडक्वार्टर सिलिगुरीका डीआईजी सोनारले नेतृत्व गरेका थिए।
बैठकमा सीमा अपराध, सीमामा हुने अवैध गतिविधि नियन्त्रण तथा रोकथाम, सीमा क्षेत्रमा हुने कुनै पनि किसिमका अवान्छित गतिविधि हुन नदिनबारे बैठकमा छलफल भएको बराह बाहिनीका बाहिनीपति पोखरेलले जानकारी दिए।
त्यसैगरी बैठकमा दशगजा अतिक्रमण हुन नदिन, लागु औषध ओसारपसार तथा नियन्त्रण गर्न, मानव बेचबिखन तथा आसोसर नियन्त्रणका विषयमा समेत छलफल भएका थियो। छलफलमा दुबै पक्षले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने, चाडबाड लक्षित हेल्प डेस्क स्थापना गर्ने तथा सूचना आदानप्रदान गरी काम गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा सेक्टर हेडक्वार्टर पुर्नियाको तर्फबाट सेकेन्ड इन् कमाण्ड सुरजित पाल, सेक्टर हेडक्वाटर रानिडंगाबाट सेकेन्ड इन कमाण्ड अचिन्त मित्र, गान्तोकबाट सेकेन्ड इन कमाण्ड सुनिल कुमार लगायतको उपस्थित थियो।
नेपालको तर्फबाट सहायक बाहिनीपति एसएसपी रविनराज कर्णजित, बाहिनी मातहतका गणपतिहरु र भारतसँग सीमा जोडिएका जिल्लाका गुल्मपतिहरु तथा अधिकृतहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।