काठमाडौं– देशको पश्चिम तथा पूर्वी भागबाट संघीय राजधानी (काठमाडौं) उपत्यका भित्रिने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकमा आज (आइतबार) ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ।
दशैंका लागि यात्रुको चाप हुने र यात्रुवाहक सवारी पनि बढी गुड्ने भएका कारण उक्त सडक खण्डमा ठूला मालवाहक प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार आइतदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन।
खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने रोकिने छैन। दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको विभागले जनाएको छ।
वर्षाका बेला नारायणगढ–मुग्लिन सडक खण्डका धेरै ठाउँमा पहिरो गएको थियो। वर्षायामको पहिरोले सडक अहिले पनि केही ठाउँमा साँघुरो छ। यस्तो अवस्थामा दशैंका बेला ठूला गाडीले जाम हुन सक्ने देखिएको थियो।
विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ।
दशैंका लागि भनेर सडक व्यवस्था विभागले शुक्रबारदेखि नै सार्वजनिक यातायातका साधनका लागि रुट पर्मिट खुला गरेको छ। यसबीचमा यात्रुबाहक सवारी साधनले देशका जुनसुकै स्थानमा यात्रु बोक्न पनि रुट अनुमति लिनुपर्ने छैन। रुट परमिट कात्तिक १० गतेसम्म खुला रहने छ।
दशैंका लागि असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकिएको छ। आज (घटस्थापना)को दिनदेखि नै मानिसहरु दशैंका लागि आ–आफ्नो घर जाने भएकाले यात्रुको चाप पनि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।