काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा नेकपा एमालेले अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन्।
संघ, प्रदेश र संसद् पनि एमालेले गैरजिम्मेवारी भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो। शनिबार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर नगर्ने दाबीसमेत गरे।
उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको पनि बताए।
मन्त्री भुसालले भने, ‘एमाले मुलुकमा अस्थिरता चाहन्छ। र, अस्थिरतामा आफूले फाइदा लिन चाहन्छ। अहिले पनि उसको भूमिका त्यही नै छ। चाहे प्रदेश सरकारको कुरा गरौं, चाहे संघीय सरकारको कुरा गरौं। चाहे संसद्भित्रको। जहाँ पनि उसको भूमिका भनेको मुलुकका राजनीतिक अस्थिरता सृजना गर्ने।’
एक अर्को प्रसंगमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए। बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरुलाई प्रेरित गर्ने उनको योजना थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।