काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।
संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो। पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने? भनी प्रश्नसमेत गरे।
उनले भने, ‘यो बीचको प्रदेश संरचना आवश्यक छैन। यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ। नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ। कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने?’
नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५/७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उनले प्रस्ताव गरे। अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गरे।
उनले भने, ‘नेपाल जस्तो सानो देशमा किन सयभन्दा बढी मन्त्रीहरु चाहिन्छ भन्नु त? अहिले हरेक प्रदेशमा १०/१२ जना मन्त्रीहरु छन्। किन झन्डै सय जना मन्त्रीहरु चाहियो? हाम्रो जस्तो सानो देशमा ५/७ सयको संख्यामा किन सांसदहरु चाहियो भन्नुस त? चाहिँदैन। त्यकारणले गर्दाखेरी अर्बौं रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरुलाई पालेर राख्नुपर्ने जरुरी छैन। त्यसर्थ, दुई तहको सरकार बनाऔं भन्ने हाम्रो धारणा हो।’
अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिरसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।