काठमाडौं– काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्ती मनाएको छ।स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा स्थापना दिवसका साथै हिरक जयन्ती मनाएको हो।
देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीको स्थापना विसं २००५ सालमा भएको थियो।
विद्यालयको हिरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचित कांग्रेस सांसद प्रदीप पौडेलले शिवपुरी विद्यालय देशकै उदाहरणीय शैक्षिक संस्था रहेको बताए।
मन्त्री राईले शिक्षा दान गर्ने विषयमा देशकै उत्कृष्ट विद्यालयका रुपमा शिवपुरी स्थापित भएको बताए। यो सफलता विद्यार्थी, अविभावक, शिक्षक र दाता, कर्मचारीको योगदानबाट मात्रै सम्भव भएको बताए। सार्वजनिक शिक्षामा लगानी अभिवृद्धि गर्न आगामी दिनमा सरकारले गम्भीरता पूर्वक सोचेर काम गर्ने बताए।
सांसद पौडेलले शिवपुरीलाई देशकै नमुना विद्यालयका रुपमा विकास गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाए। उनले शिवपुरी विद्यालयले आफ्नो भौतिक र जनशक्तिसहितको क्षमताभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरेको विषयले पनि यहाँ गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने स्पष्ट भएको बताए।
शैक्षिक सुधारका अलवा विद्यार्थी कतै दुर्घटनामा परेर घाइते भएमा उपचार सहज बनाउन विद्यार्थी कल्याण कोष खडा गर्नुपर्ने र यो विषय ऐनमै समावेस भएर आउनुपर्ने उनको भनाइ थियो।
काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला, बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक विद्यालय हुँदै विसं २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रुपमा कायम छ।
काठमाडौं महानगरपालिकाले यो विद्यालयलाई आफ्नो प्राविधिक शिक्षालयका रुपमा समेत विकास गरेको छ। ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत यो विद्यालयमा १ हजार ५ सय ९४ जना विद्यार्थी अध्ययनरत छन्।
१ देखि १२ कक्षाका अलवा शिवपुरीको संरचनाबाटै स्नातक तहका २ वटा संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराइँदै आएको छ। खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्य रहेकादेखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा रहेको शिवपुरी हरेक वर्ष शैक्षिक शिवपुरी अगाडि रहेको प्रधानाध्यापक प्रकाश सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।