चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ।
भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उनले बताइन्। प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्।
शारदानगरको सो आयोजना रु ५५ करोड हाराहारीमा निर्माण गरिएको हो। आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ। सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ। यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो।
यसैगरी, भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खानेपानी आयोजना रु १० करोडको लागतमा निर्माण गरिएको हो। यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।