काठमाडाैं- कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खार्पुङले उनलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कार्कीले शनिबार बिहान ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराइ हस्ताक्षरमा सनाखत गराएका थिए। ९३ सदस्यीय प्रदेश सभामा उक्त संख्या बहुमत हाे। सनाखतमा बहुमत पुष्टि भएसँगै प्रदेश प्रमुख खार्पुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए। तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन।
नेकपा एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो। कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन्।
शुक्रबार एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखकहाँ पुगेका थिए। तर प्रदेश प्रमुख खापुङले दुवै पक्षका समर्थक सांसदको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका थिए।
गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरे पनि शेखर काेइराला पक्षले उक्त निर्णय नमानी कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेकाे थियाे। शुक्रबार काेशी विवादबारे समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवाकाे निमन्त्रणमा धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उपस्थितिमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेकाे थियाे।
उक्त बैठकमा शेखरलाई पनि बाेलाइएकाेमा काेइरालाले सबै प्रस्ताव अस्वीकार गर्दै बैठक बहिष्कार गरेका थिए। बैठक शनिबार बिहान पुन: बाेलाइएकाे छ। राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापतिको दबाब अस्वीकार गर्दै कोइरालाले कोशीमा अगाडि बढाइएको कदमबाट फिर्ता नहुने अडान लिएका छन्।
![koshir1697258233.jpg](https://nepallive.net/uploads/posts/koshir1697258233.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।