काठमाडौं- कोशीका प्रदेश प्रमुखको कार्यालयमा सांसदहरूको सनाखत सुरु भएको छ। मुख्यमन्त्रीका दुई उम्मेदवारहरू इन्द्र आङ्बो र केदार कार्कीलाई समर्थन गर्ने सांसदहरूको सनाखत सुरु भएको हो।
प्रदेश प्रमुख कार्यालयको सभाहलमा प्रदेश सभा सदस्यहरूले सनाखत गरिरहेका हुन्। सनाखतका लागि शनिबार बिहान ८ बजेदेखि अपराह्न २ बजेसम्मको समय छुट्याइएको छ। सनाखतका लागि प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित हुन भनिएको छ।
गत बिहीबार आङ्बो र कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनीहरू दुवैले ४७/४७ जनाको हस्ताक्षर बुझाएका प्रदेश प्रमुख कार्यालयको भनाइ छ। केही सांसदहरूको हस्ताक्षर दुवैतिर रहेकाले को-कसको पक्षमा हो भनेर निर्क्यौल गर्न प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्ने तरिका अपनाएका हुन्।
शुक्रबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने समय थियो। तर बिहीबारै परेका दुई दाबीमाथि कुनै निर्णय नगरी उनले शनिबार सनाखत गर्ने निर्णय लिएका थिए।
आङ्बोले हस्ताक्षर बुझाएका ४७ जनामध्ये ८ जनाले कार्कीको पक्षमा हस्ताक्षर गरेका थिए। उनीहरूले आङ्बोले बुझाएको आफ्नो हस्ताक्षर झुटा भएको पनि बताएका छन्। त्यसको जानकारी सहित उनीहरूले बिहीबार नै प्रदेश प्रमुख खापुङलाई निवेदन समेत दिएका थिए।
आङ्बोले गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र र जसपाको साथमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। कार्कीले भने एमालेका ३९ जना सांसद र कांग्रेसका शेखर कोइराला पक्षका ८ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।
९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।